
उदयपुरको गाईघाट बजार घुम्न गएको बेला खाजा खान छिरेकी एलिसा (परिवर्तित नाम) लाई होटलका सञ्चालकले पहिला नै चिनजान रहेको भन्दै सन्चोबिसन्चो सोध्छन् ।
गाउँकै सामान्य चिनजान रहेका ब्रोदर्स रेस्टुरेन्टका मालिक अनिल सेवाले उनीसँग मोबाइल नम्बर र फेसबुक आईडी माग्छन् । “उहाँलाई मेरो नम्बर र फेसबुक आईडी दिएर घर फर्किएँ,” एलिसा भन्छिन्, “केही दिनपछि उहाँले मलाई मेसेन्जरमा फोन गर्नुभयो र ‘बजार आएको बेला मेरो रेस्टुरेन्टतिर खाजा खान आउनु तिमीसँग एउटा गोप्य कुरा गर्नुछ’ भन्नुभयो ।”
एलिसाका अनुसार उनले मिति त सम्झिएकी छैनन् । तर असारतिर हुनुपर्छ उनी कामविशेषले गाईघाट गएको बेलामा ब्रदर्स रेस्टुरेन्टमा छिरिन् । उनी भन्छिन्, “उहाँलाई भेटेर ‘के गोप्य कुरा छ दादा ?’ भनेर सोध्दा उहाँले ‘मेरो रेस्टुरेन्टतिर कहिलेकाहीँ रमाइलो गर्ने ग्राहक आउँछन्, तिनीहरूसँग रमाइलो गरी बस्यौ भने मिठोमिठो खान पाउनुको साथै पैसा नि कमाइ हुन्छ’ भन्नुभयो ।”
उनले होटल सञ्चालकलाई कामचाहिँ के गुर्नपर्छ नि भनेर पनि सोधेकी थिइन् । सञ्चालकले गाह्रो काम होइन ‘खाने, पिउने रमाइलो गर्ने’ भने । “सुन्दा काम सजिलै लाग्यो, मलाई पैसाको नि जरुरत थियो र खान नि पाइन्छ भनेपछि म प्रलोभनमा परेँ र हुन्छ भनी सहमति जनाएर घर फर्केँ ।”
त्यसको भोलिपल्ट ११ बजेतिर होटल सञ्चालक सेवाले फोन गरेर बोलाएपछि एलिसा गइन् । “त्यहाँ जाँदा मैले नचिनेका अन्दाजी ५० वर्षका मानिससँग कोठामा बस्न लगाउनुभयो,” एलिसा भन्छिन्, “त्यस व्यक्तिले बियर, चुरोट र नास्ता मगाएर मलाई नि खान दिए र आफूले पनि खाए ।”
आमाबुबाले दैनिक रक्सी खाएर झगडा गर्ने गरेको देखेकी उनी ८ कक्षा पढ्दा नै साथीको संगतमा लागूऔषधको दुर्व्यसनमा फसेकी थिइन् । त्यसैले वियर र चुरोटमा नाइँनास्ती नगरेको बताउने उनका अनुसार खानपिन चलिरहेकै बेला तीे व्यक्तिले शारीरिक सम्पर्क गर्ने प्रस्ताव राखे, उनले अस्वीकार गरिन् । तर ती मान्छे रोकिएनन् ।
“मैले अहिलेसम्म यस्तो कार्य गरेको छैन भन्दाभन्दै नमान्दा पनि त्यस व्यक्तिले ‘मैले यसको लागि होटल मालिकलाई पैसा दिएको छु’ भन्दै जबरजस्ती गर्न थाल्यो,” उनले सुस्केरा हाल्दै भनिन्, “मलाई डर लागिरहेको थियो, त्यो मान्छे मभन्दा उमेरमा धेरै ठूलो थियो, मैले प्रतिकार गरिहेको थिएँ, तर मेरो प्रतिकार व्यर्थ रह्यो ।”
एलिसा बेहोस भएकी थिइन् । उनका अनुसार होसमा आउँदा उनको शरीरमा कुनै लुगा थिएन, ती व्यक्ति नग्न अवस्थामै बेडमा सुतिरहेका थिए । उनी लुगा लगाएर होटल मालिकलाई भेट्न तल झरिन् र आफूमाथि भएको अत्याचारको बारेमा बताइन् । तर होटल मालिकले ‘तिम्रो आजको कमाइ’ भनेर हातमा १ हजार रुपैयाँ थमाए ।
एलिसा रिसाइन् । “मलाई रिस उठिरहेको थियो, चिनेजानेको मानिसले मलाई यस्तो काम गर्न कसरी लगाउन सक्छ भनेर,” उनी भन्छिन्, “डर पनि लागेको थियो, कतै अरुले थाहा पाउछ कि भनेर ।”
होटल मालिक सेवाले फेसबुक म्यासेन्जरबाट बोलाएर एलिसाको बेचबिखन गरेका थिए, वेश्यावृत्ति गराएका थिए, त्यहाँ एलिसामाथि बलात्कार भएको थियो । तर डरले उनले आफूमाथि भएको अपराधका बारेमा कतै उजुरी गरिनन् ।
एलिसाको पारिवारिक अवस्था र आर्थिक अवस्था कमजोर रहेको बुझेरै होटल मालिकले लोभलालच देखाएका थिए । “उहाँले मलाई ‘तिमीले यस्तो काम अरु कहीँ पाउँदिनौ, हेर दुई घण्टा नबित्दै एक हजार कमायौ, अझै राम्रो ग्राहक आयो भने योभन्दा धेरै कमाउँछौ, त्यसछि त्यो पैसाले तिमीले मन लागेको कुरा लाउन खान खान पाउँछौ’ भन्दै मलाई प्रलोभन देखाउनुभयो,” उनी सम्झन्छिन्, “म केही नबोली बसेँ, उहाँले ‘म राम्रो ग्राहक आयो भने फोन गर्छु आउनू’ भनेपछि म केही नबोली घर फर्किएको थिएँ ।”
सहर बजारका केही होटल रेस्टुरेन्टमा ग्राहकलाई मनोरञ्जन दिने भन्दै एलिसाजस्ता नाबालिकाहरूलाई यौनकार्यमा लगाउने गरेको पाइन्छ । जसमा १३ वर्षदेखि १९ वर्षसम्मका किशोरी धेरै हुने गरेका प्रहरीको भनाइ छ । एलिसाले प्रहरीमा दिएको बयानअनुसार होटल सञ्चालक सेवाले अरु महिलालाई समेत ग्राहकसँग बस्न लगाउने गरेका थिए । सेवा स्वयंले भने आफूसँग कहिल्यै शारीरिक सम्बन्ध नराखेको र राख्ने प्रस्ताव पनि नगरेको उनले अदालतमा दिएको बयानमा स्पष्ट पारेकी छन् ।
एलिसालाई गाईघाटका होटल सञ्चालकले जति धेरै जनासँग शारीरिक सम्बन्ध बनायो धेरै त्यति पैसा हुन्छ भनेका थिए, त्यसअनुसार उनलाई पैसा पनि दिएका थिए । “एक जनासँग शारीरिक सम्बन्ध बनाउँदा १ हजार र दुई जनासँग बनाउँदा ३ हजार दिनुहुन्थ्यो,” एलिसा भन्छिन्, “धेरै जनासँग गर्दा धेरै पैसा हुने भएकोले म दिनमा दुई–तीन जनासँग नि सुत्थेँ ।”
पैसाको आवश्यकता भएकाले जति जनासँग पनि शारीरिक सम्बन्ध राख्न आफू तयार भएको उनी बताउँछिन् । ग्राहकलाई खुसी बनाएमा अझै अतिरिक्त पैसा आउने गरेको उनी बताउँछिन् ।
| वर्ष | उद्धार गरिएकाको सङ्ख्या |
| 2023 | 2388 |
| 2022 | 2297 |
| 2021 | 142 |
| 2020 | 94 |
| 2019 | 322 |
| 2018 | 250 |
| 2017 | 273 |
| 2016 | 239 |
| 2015 | 144 |
| 2014 | 183 |
| 2013 | 142 |
रेस्टुरेन्ट सञ्चालक सेवाले प्रहरीसँगको बयानमा ग्राहकले रमाइलो गर्न तथा शारीरिक सम्पर्क राख्न केटी खोजीमा एलिसालाई बोलाउने गरेको स्विकारेका छन् । उनले ग्राहसँगबाट २ हजार रुपैयाँ लिने गरेको त्यो पैसा आधा आफूले राखेर १ हजार रुपैयाँ उनलाई दिने गरेको बताए ।
गाउँघरका आर्थिक अवस्था कमजोर भएका, पारिवारिक विखण्डन भएका किशोरीलाई काम लगाइदिन्छु भनेर प्रलोभन देखाई वेश्यावृत्तिमा लगाउने गरेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको सूचना अधिकारी एसपी गौतम मिश्र बताउँछन् । मसाज सेन्टर, स्पा, पार्लर, रेस्टुरेन्टमा काम लगाइदिने भनेर सञ्चालकहरूले नै उनीहरूलाई फसाउने गरेका पाइएको मिश्रले बताए ।
उनका अनुसार सामाजिक सञ्जालको कारणले किशोरीहरू बेचबिखनमा सजिलैसँग फस्ने गरेका छन् । टिकटक, फेसबुक, भाइबरका माध्यमबाट सम्पर्क गरेर तथा अनलाइन माध्यममा विज्ञापन दिएर रोजगारीको प्रलोभन देखाएर किशोरीहरूलाई बोलाउने र यौनशोषण गर्ने गरेको मिश्र बताउँछन् ।
उनका अनुसार बालबालिका तथा किशोरीहरूलाई डर, धाकधम्की दिई जबरजस्ती यौनधन्दामा लाउने, इन्टरनेटको माध्यमबाट विभिन्न एपहरूजस्तै बाट स्ट्रिप च्याट, फ्री लाइभ सेक्स क्याम, एडल्ट च्याटलगायतमा बसाएर ग्राहकले भनेअनुसार भिडियोमा अश्लील हर्कत गर्न लाउने काममा प्रयोग गरिएको पाइन्छ ।
फेसबुक, ह्वाट्सएपलगायतमा ग्रुप बनाई सम्पर्कमा आएका ग्राहकहरूले पेमेन्ट गरेपछि उनीहरूले भनेको स्थानमा किशोरीहरू पठाउनेसमेत पाइएको मिश्र बताउँछन् ।
काम लगाइदिन्छु भन्दै बोलाएर बलात्कार
बुटवल नजिकैकी १७ वर्षीया अप्सरा (परिवर्तित नाम) को टिकटकमा अपरिचित व्यक्तिले मोबाइल नम्बर पठाउँछन् । केल्भिन जेम्स नाम गरेको टिकटकबाट नम्बर पठाउने गोरखा घर भई काठमाडौंको टोखा बस्ने रेशम गुरुङ हुन्छन् ।
किन नम्बर पठाएको भनेर सोधेपछि रेशमले ‘तपाईंलाई काम चाहिएको छ भने सम्पर्क गर्नु’ भनेको र आफूले ‘अहिले म काम गर्दिनँ’ भनेको अप्सारलाई अहिले पनि सम्झना छ । रेशमले मसाज पार्लरको काम मासिक १० हजार रुपैयाँ तलब हुने र पछि तलब बढाइदिने आश्वासन पनि दिन्छन् ।
रेशमले अप्सराको फेसबुक आईडी पनि माग्छन् र उनीहरूबीच दैनिकजसो च्याट हुन्छ । यसै क्रममा एक दिन रेशमले ‘तिमीलाई पार्लरको काम आउँदैन भने केही छैन, मेरो घरमा काम गर्ने मान्छे चाहिएको छ, तिमी मेरो बहिनीजस्तै मान्छे हो, राम्रोसँग काममा राख्ने छु डराउनु पर्दैन काठमाडौं आऊ’ भन्छन् ।
उनले काठमाडौं आउने पैसा छैन भन्दा रेशमले बाटोखर्च भन्दै मनी ट्रान्सफरबाट ८ हजार रुपैयाँ पठाइदिएका थिए । त्यही खर्चले काठमाडौं पुगेको पहिलो दिन नै उनी बलात्कारमा परिन् ।
“बसबाट ओर्लिएकै दिन उहाँले घर लैजानुभयो, खाना खाएर कोठामा लुगा चेन्ज गर्दैगर्दा उहाँले ढोका ढकढक्याउनुभयो,” उनी भन्छिन्, “मैले ढोका खोलेपछि ‘म नि यही सुत्छु भन्दै जबरजस्ती गर्नुभयो, मैले प्रतिकार गर्दा भिडियो बनाउनुभयो, यो कुरा कोही कसैलाई भनेमा नेटमा हाल्दिन्छु भनी डर देखाउनुभयो ।”
अप्सरा त्यही डरले कतै उजुरी नगरी रेशमले भनेको मान्न बाध्य हुन्छिन् । बलात्कारपछि रेशमले नजिकैको मेडिकलबाट गर्भ रोक्ने औषधि ल्याएर खान दिएको र आफूले इन्कार गर्दा गाली गरेको उनले प्रहरीसँगको बयानमा बताएकी छन् ।
रेशमको फ्ल्याटमा प्यारालाइसिस भएकी आमा, सुत्केरी श्रीमती पनि हुन्छन् । उनीहरूकै स्याहार गरेर एक महिना बसेकी अप्सारले त्यसबीचमा ३ पटक करणी गरेको प्रहरीसँगको बयानमा बताएकी छन् ।
एक महिनापछि रेशमले गोंगबुमा रहेको आफ्नै सनफ्लावर वेलनेस स्पामा उनलाई काम लगाउँछन् । “मसाज पार्लर भने पनि त्यहाँ आउने ग्राहकसँग शारीरिक सम्बन्ध राख्नुपर्ने, उनीहरूलाई खुसी बनाउन यौनजन्य गतिविधि गर्नुपर्थ्यो ,” उनी भन्छिन् । मसाज पार्लरमा धेरै नै दुर्व्यवहारको सामना गरेको उनी सुनाउँछिन् ।
प्रहरीका अनुसार रेशमले पक्राउ परेलगत्तै आरोप स्वीकार गरेका थिए । तर पछि उनले आफ्नो बयान फेरेको अभियोगपत्रमा उल्लेख छ । उनलाई उद्धृत गर्दै अभियोग पत्रमा लेखिएको छ, “म पक्राउ परी आएपश्चात् पहिलो पटक मलाई प्रहरीले सोधपुछ गर्ने क्रममा मैले उल्लेखित कुराहरू बोल्न पुगेछु, हाल मलाई याद छैन ।”
पीडितलाई नै प्रयोग गरिन्छ किशोरी खोज्न
अप्सरालाई प्रयोग गरेर रेशमले अरु किशोरीलाई समेत काठमाडौं बोलाएका थिए । केही महिना काम गरेपछि रेशमले ‘गाउँबाट अर्को साथीलाई बोला, नत्र तेरो भिडियो भाइरल गराइदिन्छु’ भनेर डर देखाएपछि गाउँकै साथी आयुशा (परिवर्तिन नाम) लाई काठमाडौं बोलाएको उनी बताउँछिन् ।
“डरका कारण सँगै पढेकी १७ वर्षकी आयुशालाई राम्रो काम छ भन्दै काठमाडौं बोलाएँ,” अप्सराले भनिन् । आमा अर्केसँग हिँडेपछि बुबाले पनि अर्की आमा ल्याएका कारण राम्रो मायाममता पाउन नसकेकी आयुशाले काठमाडौं आएर अप्सराकै नियति भोग्छिन् ।
ठमेलको ए वान स्पाकी सञ्चालिका मखमली माया स्याङ्तानसँग रेशमको चिनजान हुन्छ । उनी रेशमको पार्लरमा आउजाउ गर्ने क्रममा अप्सरा र आयुशाको चिनजान हुन्छ । त्यसपछि उनीहरू रेशमको स्पा छाडेर ए वानमा काम गर्न पुग्छन् ।
मखमलीले पनि रेशमको जस्तै ग्राहकसँग यौनसम्बन्ध बनाएबापत् १ हजार लिने र ५ सय आफूले राखेर ५ सय आफूहरूलाई दिने गरेको अप्सराले बताएकी छन् ।
ए वानमै कार्यरत रहेको बेला अप्सरा र आयुशा दुवै जनालाई जेठ ६, २०८१ को साँझ मानब बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको टोलीले उद्धार गरेको थियो । प्रहरीले रेशमविरुद्ध मानव बेचबिखन र जबरजस्ती करणीको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । अप्सरा र आयुशा दुवै सेफ हाउसमा छन् ।
ब्युरोका सूचना अधिकारी मिश्रका अनुसार दुवै किशोरीका परिवारलाई खबर गरे पनि हालसम्म लिन नआएको र उनीहरूले पनि घर जान मानेका छैनन् ।
जसरी अप्सरालाई प्रयोग गरेर रेशमले आयुशालाई बोलाएका थिए, त्यस्तै गरेर गाईघाटकी एलिसाकै माध्यमबाट सेवा र सतीशकुमार यादवले अर्की किशोरीलाई समेत बोलाएका थिए । भदौ २२, २०८० मा एलिसासँग सेवाको होटलमा बसेका यादवले भोलिपल्ट उनलाई सिरहाको लहान लगेका थिए । एलिसाले सेवा गए मात्रै लहान जाने भनेपछि एलिसालाई गाडीबाट आऊ भन्दै भाडा दिएर उनीहरू स्कुटरमा लहान पुगेका थिए ।
लहान गएको होटल खर्चबाहेक एक रातको ५ हजार रुपैयाँ लाग्छ भन्दा यादवले मिलाएर दिन्छु भनेको सेवाले प्रहरीसँगको बयानमा बताएका छन् ।
भदौ २३ गते राति लहानको एक होटलमा यादव र एलिसा एउटा कोठामा र सेवा अलग्गै कोठामा सुतेका थिए । भदौ २४ गते दिउँसो लहानको होटलमा बसिरहेको बेला एलिसाले साथीसँग फेसबुक म्यासेन्जरमा कुराकानी गरेको देखेपछि यादवले ती साथीलाई पनि बोलाउन दबाब दिए । सेवाले प्रहरीमा दिएको बयानअनुसार यादवले एलिसाका साथीलाई ‘लहान आऊ मागेजति पैसा दिन्छु’ भनेका थिए ।
तर उनले गाडीभाडा छैन भनेपछि यादव मोटरसाइकल लिएर गाईघाटसम्म गएका थिए । उनलाई लिएर लहान फर्कंदै गर्दा जलजलेको चेकप्वाइन्टमा प्रहरीले मोटरसाइकल रोकेर सोधपुछ गर्दा ती किशोरीले ‘हामीबीच चिनजान नभएको, साथीले होटलमा केही समय बसेपछि पैसा कमाइ हुन्छ भनेकाले लहानतिर जान लागेको’ भनेपछि आफू पक्राउ परेको यादवले बताएका छन् । यादव पक्राउ परेपछि प्रहरीले सेवालाई भदौ २७, २०८० मा पक्राउ गरेर जिल्ला अदालत उदयपुरमा मानव बेचबिखनको मुद्दा दर्ता गरेको छ ।
एलिसाकी साथीका बुबाले एलिसासहित, यादव र सेवालाई आरोपी बनाएर मानव बेचबिखनको अर्को मुद्दा दर्ता गरेका छन् । यी मुद्दा अदातलमा विचाराधीन छन् ।
भारतमा समेत बेचिन्छन्
अनलाइनमार्फत सम्पर्क गरेर किशोरीहरूलाई भारतमा समेत लैजान गरिएको छ । रोजगारी लगाइदिने भनेर सामाजिक सञ्जालमा पोस्ट गर्ने र झुक्याई उनीहरूलाई बेचबिखन गर्ने गिरोह बढ्दै गएको पाइन्छ । यसमा विशेषतः ग्रामीण क्षेत्रका बालबालिकाहरू त्यसको जालमा पर्ने गरेको पाइएको माइती नेपाल विराटनगरका कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी दिए ।
“गाउँका सिधासाधा किशोरीहरूलाई आकर्षक तलब हुने भनेर यहाँबाट फकाएर लैजान्छन् । भारततिर पुर्याएपछि वेश्यावृत्तिमा लगाउने गरेको पाइएको छ,” पोखरेलले भने, “बेचबिखन गर्न लैजाने गिरोहले सबैभन्दा बढी सामाजिक सञ्जाल, भाइबर र वाट्स एप प्रयोग गरेको पाइएको छ ।”
माइती नेपालकै गिताञ्जली शर्माले गत साउनमा मात्र फेसबुकको माध्यमबाट चिनजान भएर भारत पुगेकी १३ वर्षकी बालिकालाई उद्धार गरेर फिर्ता ल्याएको जानकारी दिइन् ।
मानव बेचबिखन तथा ओसारपसार एक विश्वव्यापी र बहुआयामिक समस्या हो । हातहतियार र लागूऔषधको अवैध कारोबारजस्तै मानव बेचबिखन तथा ओसारपसार अन्तर्राष्ट्रिय आपराधिक संगठित गिरोहद्वारा सञ्चालित धन्दाका रूपमा विश्वमा फस्टाउँदै गएको छ । अन्यको तुलनामा बेचबिखन र ओसारपसारमा कम जोखिम तर धेरै नाफा आर्जन हुने हुँदा यो अपराधले व्यापकता पाउँदै गएको सामाजिक विश्लेषक विज्ञान लुइँटेल बताउँछन् ।
अहिले सामाजिक सञ्जालले यसलाई थप सहजता दिएको पाइन्छ । “सहर बजारमा व्यावसायिक यौनधन्दा, सस्तो श्रम, सहरी मस्ती, आरामको जीवनशैली नक्कल गर्ने प्रवृत्ति बेचबिखनका लागि तान्ने शक्ति बनेका छन्,” लुइँटेल भन्छन्, “स्थानीय परिवेशमा गरिबी, अशिक्षा, बेरोजगारी, आयआर्जनको अवसरमा कमी, सामाजिक असुरक्षाको प्रभावमा बालबालिका परिरहेका छन् ।”
मिश्रका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ब्युरोले १८ पटक होटल, खाजाघर, मसाज पार्लरलगायतमा छापा मारेर जोखिमपूर्ण काम गर्न बाध्य ६१ जना किशोरीलाई उद्धार गरेको छ । जसमध्येका १४ जनालाई मात्रै परिवारले बुझेर लगेका छन् । अरु सबै सेफ हाउसमै छन् ।
सामाजिक सञ्जालको माध्यमबाट हुने मानव बेचबिखन पर्नबाट जोगिन के गर्ने भन्ने बारेमा ब्युरोले सामाजिक सञ्जालमै विभिन्न पोस्टसमेत गर्ने गरेको मिश्र बताउँछन् । नचिनेका व्यक्तिहरूसँग सामाजिक सञ्जालमा कुराकानी नगर्ने, कसैले कुनै लोभलालच देखाउँदैमा नलोभिने, आफ्नो व्यक्तिगत तथा निजी कुराहरू सामाजिक सञ्जालमा नराख्ने, कसैलाई पनि हत्तपत्त विश्वास नगर्ने र कसैले कुनै प्रस्ताव गरेको छ भने घरपरिवारमा सरसल्लाह गर्नुपर्ने उनको सुझाव छ ।
(यो खोज समाचार निमजिनको फेलोसिप कार्यक्रम अन्तर्गत अस्ट्रेलियन एडको सहयोगमा उत्पादन गरिएको हो । यो सामग्रीको पूर्ण जिम्मेवारी प्रकाशक र लेखकसँग मात्र रहने छ ।)